निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ : नेका नेता सिटौला


बनियानी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनु पर्नेमा जोड दिए।

झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे धारणा राखेका हुन् । ‘मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,’ उनले भने, ‘आचारसंहिताको पूर्णपालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु ।’

दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे । ‘जीतहार एउटा पाटो हो,’ उनले भने, ‘परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ ।’

नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिए । डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया