
व्यवसायमैत्री वातावरण निर्माणको पक्षमा सरकारः गृहमन्त्री खाण
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर ढङ्गले लागेको बताएका छन् ।नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारणसभा एवं १२औँ अधिवेशनको अवसरमा उनले निर्माण उद्योग व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधारलगायत सहजीकरणका कामलाई प्राथमिकता दिएको उल्लेख गरे ।
गृहमन्त्री खाँणले निर्माण उद्योगको उत्थानका लागि सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनसँगै खरिद ऐन नै संशोधन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । सदन सञ्चालन भएसँगै खरिद ऐन संशोधनका लागि सरकारले प्रयास गर्ने मन्त्री खाँणको भनाइ थियो ।
निर्माण उद्योग मुलुकको धरोहर हो भन्दै मन्त्री खाँणले भने, “निर्माण उद्योगका लागि अत्यावश्यक सुरक्षा दिन सरकार सधैँ तयार छ ।” एमसिसी परियोजना भौतिक पूर्वाधार विकास विस्तारसँग प्रत्यक्ष सम्बन्धित भएकाले त्यस परियोजना पारित गरेर सरकारले ऐतिहासिक काम गरेको उनले बताए ।
सांसद तथा नेपाल निर्माण व्यवसायी महासङ्घका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले साना ठूला सबै व्यवसायीको समस्या एकै हो भन्दै सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन पारित गरेकामा सरकारप्रति आभार व्यक्त गर्दै अब निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
इन्धनमा भइरहेको भारी मूल्यवृद्धिले निर्माण उद्योग धराशायी भएको बताउँदै उहाँले यही अवस्थामा उद्योग अघि बढ्न नसक्ने बताए । एमसिसी पास भएबाट निजी क्षेत्र उत्साहित रहेको उनको भनाइ थियो । महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माण उद्योगमैत्री ऐन कानुनको अभाव र आकासिँदो महँगीका कारण निर्माण उद्योग ठूलो मारमा रहेको बताए । महासङ्घको साधारणसभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।



कागजपत्र |
