प्रधानमन्त्री देउवा र फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेटवार्ता


काठमाडाैं – नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको ५ दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतों नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा विचारविमर्श गरेको थियो । भविष्यमा सञ्चालन गर्न सकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले छलफल गरेको थियो ।

नेपाल–फ्रान्स सम्बन्धलाई अझ उन्नत तुल्याउन संसदीय समूहले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्री देउवाले व्यापार, लगानी, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तन प्रतिकार्यलगायत क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि अपरिहार्य भएकामा जोड दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष रियोतोंले राजनीति र जलवायु परिवर्तनका प्रभावको सामना गर्न नेपालका महिलाहरूको सहभागिता बढाएकामा नेपालको प्रशंसा गर्दै दिगो विकास र कृषि क्षेत्रमा फ्रान्स र नेपालबीच सहयोग सुदृढ तुल्याउने आफ्ना चाहना अभिव्यक्त गरेका थिए ।  बुधवारै प्रतिनिधिमण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गर्‍यो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मैत्रीलाई सुदृढ बनाउन संसदीय मैत्री समूहले गरेको योगदानको सराहना गर्दै फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गरेकामा हार्दिक कृतज्ञता ज्ञापन गरे । उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रूपमा रहेको स्वतन्त्रता, समानता र भ्रातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र संघर्षमा सधैं प्रेरणादायी रहेको बताए ।

पारस्परिक सद्भाव र समझदारीमा आधारित नेपाल र फ्रान्सबीचको सम्बन्ध उच्चस्तरीय भ्रमणको आदान–प्रदानबाट अझ प्रगाढ हुने बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड-१९ महामारीविरुद्धको नेपालको लडाइँमा फ्रान्सले कोभ्याक्स सुविधामार्फत खोप अभियानमा गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

अध्यक्ष रियोतोंले २ देशबीचको सहयोग र सहकार्यलाई अझ सघन तुल्याउन प्रयास गर्ने आश्वासन दिँदै नेपालमा ३ वटै तहका सरकारको सम्बन्ध र सहकार्यबारे जिज्ञासा राखेका थिए । दुवै भेटमा अध्यक्ष रियोतोंका साथ समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर तथा नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओको पनि उपस्थिति थियो । फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले बिहीवार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया