क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो रुकुम पश्चिमको यातायात


रुकुम (पूर्व) : रुकुम पश्चिममा क्षतिपूर्ति पाउनुपर्ने मागसहित बुधबार भएको यातायात बन्द पीडित पक्षलाई २७ लाख रूपैयाँ दिने सहमति भएपछि खुलेको छ। गत मंसिर २० गते भएको बस दुर्घटनाका पीडित, बस मालिक र यातायात समितिबीच दिउँसो सहमति भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा भएको छलफलमा पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको हो। सिस्ने हिमाल यातायात प्रालिका २ जना मालिकले पीडितलाई क्षतिपूर्तिवापत ९/९ लाख रूपैयाँ दिन सहमति जनाएका हुन्। प्रालिले ९ लाख, बसका मालिक महेन्द्र गौतम र जीवन पौडेलले ९/९ लाख गरी २७ लाख रूपैयाँ पीडित पक्षलाई दिने सहमति भएको कागजमा तीनै पक्षले हस्ताक्षर गरेका हुन्।

४५ दिनभित्र यो रकम बुझाइसक्ने सहमतिमा उल्लेख छ। सहमतिपछि सवारीसाधन चल्न थालेका छन्। बस दुर्घटना भएको लामो समयसम्म पनि क्षतिपूर्ति नपाएको भन्दै पीडितले बिहानदेखि यातायात ठप्प पारेका थिए। पीडित पक्षले यातायात ठप्प पारेपछि जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो।

मुसीकोट नगरपालिका–१ बाट जन्ती लिएर बाँफिकोट गाउँपालिका-२ गएर फर्कने क्रममा मुसीकोट नगरपालिका–२ को बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा बुदु खड्काको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए।

प्रतिक्रिया