दुई वर्षपछि भारतद्वारा नियमित अन्तर्राष्ट्रिय उडान खुला


काठमाडौं – कोरोना महामारी केही मथ्थर भएसँगै भारतले दुई वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । कोरोनाका कारण सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

‘एयर बबल’ सम्झौता अन्तर्गत निश्चित देशहरुबाट समिति संख्याका उडानहरुको अनुमति मात्रै दिइएको थियो । आगामी २७ मार्चबाट लागू हुनेगरी भारतबाट विदेश जान र आउनका लागि पूर्ववतः उडानको अनुमति दिने निर्णय भारत सरकारले गरेको हो ।

भारतले कोराना पहिलेकै अवस्थाको उडानलाई नियमति गर्ने भएपछि काठमाडौंका लागि उडानहरु बढ्ने छ । यसअघि कोरोनाकालमा नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडानको अनुमति पाएको थियो । तर कोरोनाका संक्रमण कम भएसँगै गत फेब्रुअरी १६ बाट भिस्तारा र इन्डिगोले पनि एयर बबल सम्झौता अन्तर्गतै काठमाडौं उडान थालेका छन् ।

कोरोना फैलिनुअघि दिल्ली–काठमाडौं दैनिक ११ वटासम्म उडान हुँदै आएको थियो । फेब्रुअरी १६ बाट ४ वटा उडान भइरहेको छ । नेपाल एयरलाइन्सले १४ मार्चबाट दैनिक थप एउटा उडान थप्दैछ ।

प्रतिक्रिया