दरौंदी नदीमा बेपत्ता भएका भट्ट मृत फेला


काठमाडौं – गोरखा नगरपालिका–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

भीमसेन थापा गाउँपालिका–१ का २२ वर्षीय विकास भट्टको शव बुधवार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

डोजरको सह–अपरेटरको रूपमा काम गर्दै आएका उनी मङ्गलवार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोबाइल र पैसासमेत भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

पौडी खेल्नका लागि कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पनि शव नभेटिएपछि कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट गोताखोरको टोली मगाइएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया