सिन्धुपाल्चोक एमालेका गाउँपालिका अध्यक्षसहित नेता-कार्यकर्ता कांग्रेस प्रवेश
काठमाडौं – नेकपा (एमाले)को सिन्धुपाल्चोक जिल्ला सदस्य र निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आज (मंगलबार) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उनीहरूलाई माला र खादासहित अबिर लगाएर कांग्रेस प्रवेश गराएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बसनेतले एमाले नेताहरूलाई कांग्रेस प्रवेशका लागि सानेपा ल्याएका थिए ।
पार्टी प्रवेश गर्नेहरूमा एमालेबाट बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित केदार क्षेत्री, एमाले जिल्ला सदस्य सुभास सुन्दास, एमालेका युवा नेता कृष्ण क्षेत्रीसहितका नेताहरू छन् । उनीहरूसँगै ठूलो संख्यामा कार्यकर्ताहरू पनि कांग्रेस प्रवेश गरेको बताइएको छ ।