

पाैडेल भन्छन् – केन्द्रको निर्णयले स्थानीय तहमा गठबन्धन गर्न हुँदैन

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन् ।
नेपाली काँग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा नेता पौडेलले भने ‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन । स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ ।’
उनले आगामी चुनावमा काँग्रेसले भ्रष्टाचारविरुद्धको एजेण्डा अघि सार्नुपर्नेमा जोड दिए । ‘स्थानीय तहले विकासलाई गाउँ गाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै काम भएको छ । तर, सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ ।’
नेता पौडेलले ‘स्थानीय तहको निर्वाचनमा काँग्रेसले भ्रष्टाचारविरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ ।’ उनले विकासको आधार स्थानीय तह भएकाले भ्रष्टाचारविरुद्ध काँग्रेस खरो रुपमा उत्रिन जरुरी रहेको बताए ।

