बौंदीकाली जोड्ने कालीगण्डकीको पक्की पुल २ महिना बन्द हुने


नवलपुर – नवलपुरको बौंदीकाली गाउँपालिका र तनहुँको घिरिङ गाउँपालिका जोड्ने डेढगाउँस्थित कालीगण्डकीको पुल करिब दुईमहिनाका लागि अवरुद्ध हुने भएको छ ।

उक्त पुलमा रिभर ट्रेनिङ कार्यको पुनःनिर्माणको कार्य हुने भएकोले यही फागुन २४ गतेदेखि आगामी वैशाख १५ गतेसम्मका लागि उक्त पुल भएर आवतजावत गर्ने सवारीसाधन रोक्नुपर्ने भएको बौंदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जनाए ।

सुवेदीका अनुसार उक्त सडक खण्डको पुलमा सडक डिभिजन दमौलीको प.सं.२०७८/७९ चलानी नं. ६३७, मिति २०७८/११/२० को पत्र अनुसार रसुवारहिम्डुङ एण्ड थोकर जेभीको पत्रअनुसार उक्त पुलको रिभर ट्रेनिङ कार्यको पुनर्निमाणको कार्य हुने भएकोले उक्त पुल भएर आवतजावत बन्द गरिने निर्णय गरिएको हो ।

उक्त स्थानको पुनःनिर्माण यथाशीघ्र सम्पन्न गरी सवारी सञ्चालनका लागि गाउँपालिकाले सम्बन्धित निकाय वा निर्माण कम्पनीलाइ अनुरोधका साथै अनुगमन गरी राख्ने पनि सुवेदीले जनाए ।

त्यसअघि गत असार १ गते आएको बाढीका कारण उक्त पुलको दुवै तर्फबाट भाग क्षतिग्रस्त भएको थियो । डेढगाउँतर्फ कम क्षति भए पनि तनहुँतर्फको भागमा ठूलो क्षति भएपछि गएको असाररसाउनमा करिब २ महिना बौंदीकाली सडक सम्पर्कबाट बञ्चित भएको थियो । त्यसपछि गाउँपालिका र सडक विभागको पहलमा अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याइए पनि अब वर्षायाम सुरु हुन लागेकोले उक्त क्षतिग्रस्त भागको स्थायी रुपमै पुनर्निमाण गर्नुपर्ने भएकोले काम सुरु गरिएको पनि जनाइएको छ ।

उक्त पुलबाट आवतजावत कार्य बन्द भएपछि भिमादबाट डेढगाउँ जाने सवारी साधनहरु स्याङजाको केलादीघाटबाट पाल्पा हुँदै डेढगाउँ आउनुपर्ने भएको छ । पुल निर्माण हुनुअघि मोटरसाइकलहरु भने झोलुंगेपुलबाट आवतजावत गर्ने गरे पनि अहिले सो पुल पनि जीर्ण अवस्थामा रहेको हुनाले बालीघाट र साँगुरी पुलबाट आवतजावत गर्नुपर्ने एक स्थानीयले बताएका छन् । उक्त पुल गण्डकी प्रदेशको गौरवको आयोजना अन्तर्गतको भिमाद—मानपुर—डेढगाउँ–रकुवा–रुचाङ–हुप्सेकोट हुँदै चोरमारा जोड्ने सडकखण्ड अन्तर्गत पर्दछ ।

May be an illustration

प्रतिक्रिया