
एमालेले सभामुखको नाम जोडेर भ्रम सृजना गर्यो : सचिवालय
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रामक आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । सभामुख सापकोटाको सचिवालयले सभामुखविरुद्ध कपोकल्पित विषयको उठान र दुस्प्रचार भएको भन्दै आज एक प्रेस नोट जारी गर्दै आपत्ति जनाएको हो ।
सभामुखको सचिवालयको तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् । एमालेले मंगलबार पत्रकार सम्मेलन गर्दै संसदको अवरोधलाई अनदेखा गर्दै सभामुखले बलमिच्याई गरेको आरोप लगाएको थियो।
‘सरकारले दिएको विजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसिसी सम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छ भन्नेजस्तो आवेगपूर्ण अभिव्यक्ति दिनुभयो’, एमालेको विज्ञप्तमा भनिएको छ, ‘षड्यन्त्रको पटकथा तयार भएपछि भने सभामुख भनेको अम्पायर हो भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो। यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ।’
सभामुखको सचिवालयले प्रचार गरिएका विषयको पुष्टि गर्न ध्यानाकर्षण गराएको छ।




कागजपत्र |
