

प्रदेश १ मा देखियो नेकपा विवाद, अर्थमन्त्रीको बर्खास्तीसँगै तीन मन्त्रीद्वारा राजीनामा

बिराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेको भोलिपल्ट ३ जना मन्त्रीले राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्रीद्वय जसमाया गजमेर र विजय कुमार विश्वास रहेको जनाइएको छ ।
केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको छ । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् ।
यही तयारीमा लागेको आरोपमा शनिबार मुख्यमन्त्री शेरधनले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए । अर्थमन्त्री आङबो यसअघि बादल समूहमा थिए । तर, प्रधानमन्त्री ओलीले संसद विघटन गरेर पार्टी विभाजन गरेपछि उनले बादलको साथ छाडेर प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।

