
रुसी बख्तरबन्द गाडीको बिशाल लाइन किएभ तर्फ
युक्रेन – युक्रेनमाथि आक्रमण गरिरहेको रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु राजाधानी किएभ तर्फ पठाएको छ । रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानी किएभ तर्फ जाँदै गरेको स्याटेलाइट तस्बिरमा देखिएको हो ।
स्याटेलाइट तस्बिर लिने कम्पनी म्याक्सर टेक्नोलोजीका अनुसार रुसी बख्तरबन्द गाडीको लाइन ४० माइल अर्थात ६४ किलोमिटर भन्दा बढी लामो रहेको छ । यसअघि हातहतियारले सजिएका रुसी लडाकु सवारीको लाइन १७ माइल अर्थात २७ किलोमिटर लामो भनिएको थियो ।
यस्तै रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको पनि नयाँ तस्बिरमा देखिएको छ । सो स्थान युक्रेनसँगको सीमा भन्दा मात्रै २० माइल (३२ किलोमिटर) को दूरीमा पर्छ ।
युक्रेनमा रुसी आक्रमण विगत पाँच दिनदेखि जारी छ । गएको बिहीबारदेखि रुसले बिना उक्साहट युक्रेनमाथि युद्ध सुरु गरेको हो । युक्रेनी सैनिक तथा स्वयम्सेवी लडाकुले रुसी सैनिकलाई प्रमुख शहरमा रोक्ने प्रयास गरिरहेका छन् । उनीहरुलाई स्थानीय बासिन्दाले साथ दिइरहेका छन् । तर स्थल तथा हावईसँगै मिसाइल आक्रमण गरिरहेको रुस अघि बढ्ने क्रममा छ ।
रुसी आक्रमणको निशानामा सर्वसाधारण नागरिक आएको र रुसले युद्ध अपराध गरिरहेको युक्रेनी अधिकारीले बताएका छन् । रुसले गरेको आक्रमणमा युक्रेनी शहर खार्किभमा कम्तीमा ९ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
युक्रेनलाई अमेरिकासहितका पश्चिमा देशले हातहतियारसहितका सैन्य सामग्रीका लागि सहयोग गरिरहेका छन् । यस्तै उनीहरुले रुसमाथि आर्थिकसहितका प्रतिबन्ध लगाएर दबाब दिए पनि आक्रमण रोकिन सकेको छैन ।
युद्ध जारी रहँदा सोमबार बेलारुसमा युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता भयो । पाँच घण्टासम्म भएको वार्तामा कुनै सहमति जुट्न सकेन । तर फेरि वार्तामा बस्ने रुसले जनाएको छ । युक्रेनले बिना शर्त रुसी सैनिक फिर्ता हुनु पर्ने अडान लिएको छ ।
यसैबीच रुसविरुद्धको युद्धमा युक्रेनलाई साथ दिन अन्तर्राष्ट्रिय स्वयम्सेवी जान थालेका छन् । युक्रेन सरकारले विदेशीका लागि विशेष व्यवस्थासहित युद्धमा सहयोगका लागि आग्रह गरेको थियो ।
त्यस अन्तर्गत मार्च १ देखि बिना भिसा यात्राको व्यवस्था गरिएको युक्रेनले जनाएको छ । यसरी युक्रेनलाई रुसविरुद्धको युद्धमा सहयोग गर्न जानेमा क्यानडाका हाँस्यकलाकार पनि रहेका छन् । २९ वर्षका क्यानडियन एन्थोनी वाल्कर युक्रेन गएका हुन् ।



कागजपत्र |
