नेपालमा नसर्ने रोगको प्रकोप बन्दैछ सुषुप्त महामारी
काठमाडौं – मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको ‘प्रमुख कारण बन्न चिन्ताको विषय भएको अधिकारी र जनस्वास्थ्यविद्हरूले बताएका छन्।
नेपालमा गरिएका पछिल्ला अध्ययनले मृत्युका कारणमा यस्ता रोगको प्रतिशत बढिरहेको देखाएकाले यो चिन्ताको विषय भएको उनीहरूको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखले नेपालको यस्तो अवस्थालाई सुषुप्त महामारी भनेका छन्।
जनस्वास्थ्यविद्का बुझाइमा नसर्ने रोगको प्रकोप बढ्नुमा मानिसहरूको जीवनशैलीका साथै रोकथामको साटो उपचारमा केन्द्रित हुने सरकारी नीति जिम्मेवार छन्।
नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको नियमित रूपमा नै विवरण सङ्कलन हुने गरेको स्वास्थ्य सेवा विभागका अधिकारीहरू बताउँछन्। तर त्यस्तो विवरणलाई पूर्ण मान्न नसकिने उनीहरूकै भनाइ छ। मानिसहरू शोकमा रहेको अवस्थामा कैयौँ त्यस्ता मृत्युको विवरण सरकारी निकायसम्म नआउने गरेको उनीहरूको अनुभव छ।
कतिपय अवस्थामा स्वास्थ्य स्वयंसेविकाहरूले पनि थाहा नपाउन सही विवरण नआउने सम्बद्ध अधिकारीहरूले बताए। त्यसकारण नसर्ने रोगबारे गरिएका पछिल्ला अध्ययनहरूलाई आधार मानेर आवश्यक नीतिहरू बनाइने गरेको बताइन्छ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सन् २०१९ मा गरेको र त्यसको अर्को वर्ष प्रकाशित एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ। त्यसअघि दातृ निकायकै सहयोगमा सन् २०१७ मा गरिएको त्यस्तै अध्ययनले त्यस्तो प्रतिशत ६६ रहेको देखाएको थियो।
पछिल्लो अध्ययन प्रतिवेदन अनुसार सन् २०१९ मा कुल १ लाख ९३ हजार ३ सय ३१ मृत्यु भएकामा २१.१ प्रतिशत मृत्यु सर्ने, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको देखिएको छ। त्यस्तै ७.८ प्रतिशत मृत्यु चोटपटकका कारण हुने गरेको देखिएको छ। मृत्यु धेरै गराउने नसर्ने रोगमध्ये मुटु तथा नसासम्बन्धी रोगहरूको हिस्सा धेरै रहेको उक्त प्रतिवेदनले देखाएको छ।
त्यस्ता रोगमध्ये कार्डियोभास्कुलर रोग (सीभीडी) हरूको प्रतिशत २४ र इस्क्यामिक हर्ड डिजिज् (आईएचडी) को प्रतिशत १२.३ प्रतिशत रहेको छ। दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने प्रतिशत भने १६.३ रहेको छ। यस्ता रोगको प्रतिशत सन् १९९० मा ६.१ रहेको थियो।