राप्रपा नेपालका अध्यक्ष नै पार्टीबाट निष्काशित


काठमाडाैं – राप्रपा नेपालले अध्यक्ष लाक्पा तामाङले पार्टी हित तथा विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्काशन गरेको छ। पार्टीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा शुक्रवार बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको जानकारी दिए ।

पार्टीको २१ सदस्यीय कार्यसमितिमध्ये १५ सदस्यले कारबाही गर्ने निर्णय गरेको हो । पछिल्लो समय पार्टीमा देखापरेको विवाद समाधानका लागि पार्टीका नेता प्रदीपविक्रम राणालाई कार्यसमितिको संयोजक बनाउने निर्णय गरेको जानकारी दिइएको छ ।

संयोजक राणाले पार्टीको वैचारिक दृष्टिकोण संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र भएकामा अध्यक्ष तामाङले केन्द्रीय कार्यसमितिको बैठक नराखी कमल थापालाई अध्यक्ष बनाएर पार्टीले गणतन्त्रको सिद्धान्त अवलम्बन गरेको अभिव्यक्ति दिएको घटना आश्चर्यजनक भएको तथा नियमसंगत नभएको बताए ।

उनले यस घटनाप्रति कानूनी उपचार खोज्ने क्रममा निर्वाचन आयोगमा निवेदनका साथै पाटनस्थित उच्च अदालतमा कार्यसमितिका १५ सदस्यले मुद्दा दर्ता गरिसकेको जानकारी दिए । गत मंसिरमा राप्रपाको अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका कमल थापाले हालै सो पार्टी परित्याग गरी राप्रपा नेपालको नेतृत्वमा आफू रहेको भन्दै फागुन ७ गते शनिवार पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

प्रतिक्रिया