लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा बन्दको प्रभाव- यातायात सेवा ठप्प, शिक्षण संस्था बन्द


काठमाडौं – मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा तेती धेरै नदेखिएपनि लुम्बिनी सुदुरपश्चिम लगायत प्रदेशहरु प्रभावीत भएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् ।

लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले आज बिहानैदेखि लामो दुरीका सवारी साधन चल्न नसकेको बताए ।

उनका अनुसार कैलाली, कञ्चनपुरसहितका प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । छोटो दुरीका सवारी साधन पनि छिटफुट रूपमा मात्रै चलिरहेको एसपी धितालले बताए ।

यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरूमा बिहानी कक्षा सञ्चालन नभएपछि विद्यार्थीहरू घर फर्किएका छन् ।

प्रतिक्रिया