प्रचण्डले पनि भने : सरकारले एमसीसी संसदमा टेबल गरे सभामुखले रोक्न मिल्दैन


काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यदि सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव संसदमा लगेमा सभामुखले रोक्न नसक्ने बताएका छन्। प्राइम टाइम टेलिभिजनसँग शनिबार कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। एमसीसी रोक्नकै लागि सभामुखले तीन पटकभन्दा धेरै संसद स्थगित गरेको आरोप लागिरहेका बेला दाहालले यस्तो बताएका हुन्।

‘हामीले सभामुखलाई प्रयोग गरे एमसीसी रोक्न खोजेको छैन। सरकारले टेबल गर भनेपछि सभामुखले रोक्दैनन्’, उनले भने, ‘सरकारले अगाडि बढाऊ भन्यो भने बढाउनुपर्छ। सरकारले बिजनेस दिने हो बिजनेसलाई अघि बढाउनुपर्छ।’तर एमसीसीमा सहमति नै होस् भन्ने चाहना सभामुख सापकोटाको रहेको उनले बताएका छन्।

‘उहाँको मनोभावना विवादबीच नआओस् भन्ने हो। उहाँले भनेको पनि त्यही हो’, उनले भने, ‘सरकारले एमसीसीलाई संसदमा लान्छु भन्छ भने सभामुखको दायित्व बहस गराउने हो।’

उनले अग्नि सापकोटालाई सभामुख बनाउने बेलामा पनि ठूलो विवाद भएको बताए। ‘अग्निलाई मैले, माधव, झलनाथ र वामदेवले पनि जोड दिएर सभामुख बनाएको हो,’ उनले भने, ‘केपी ओलीसहितलाई सभामुख मन परेको थिएन। अग्नि नहटेसम्म समर्थन गर्दैनौँ भनिरहेको छ एमाले। एमसीसीमा समर्थन गर्न एमालेले अग्नि हटाउनुपर्छ भन्यो।’

उनले यदि सरकारले एमसीसी संसदमा लगेमा सभामुखले अघि नबढाए नैतिकताका आधारमा पद त्याग्नु उचित हुने पनि बताएका छन्। यता नेपाली कांग्रेस, लाेसपा, जसपाका केही नेतालगायतका दलका नेता एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । नेकपा एमाले पहिले सरकारमा हुँदा पास गर्ने पक्षमा थियाे अहिले सत्ता गठबन्धनभित्र विवाद भएकाेले माैन छ ।

प्रतिक्रिया