
अन्टार्टिका पुग्यो कोरोना भाइरस
अन्टार्टिका(एजेन्सी)– चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस अब अन्टार्टिका महाद्वीपमा पनि पुगेको छ । यो महाद्वीपमा हालसम्म कोभिड–१९ बाट सुरक्षित थियो । अन्टार्टिका प्रायद्वीपमा बसिरहेका चिलीका सेनाले त्यहाँको आफ्नो बर्नार्डो ओहिगिन्स रिसर्च स्टेसनमा ३६ कोभिड–१९ को मामला पाइएको जनाएको छ ।
यी ३६ व्यक्तिमा २६ सैनिक छन्, जबकी १० व्यक्तिहरु त्यहाँको प्राविधिक कर्मचारी हुन् । यी सबै व्यक्तिलाई चिलीमा बोलाइएको छ । केही दिन अघि चिलीको नौसेनाले यो कुराको पुष्टि गर्दै यो रिसर्च स्टेसनमा आपूर्ति र व्यक्तिलाई पु¥याउने एक जहाजका तीन जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको थियो । यो खबरसँगै अब विश्वकै सातैवटा महाद्वीपमा कोरोना भाइरस पुगेको छ ।
सरहेन्तो आल्दिया नामको जहाज गत नोभेम्बर २७ मा रिसर्च स्टेसनमा पुगेको थियो र १० डिसेम्बरमा चिली नै फर्किएको थियो । चिलीको टेलकुआनो सहरमा नौसेना बेसमा पुगेपछि यसका तीन सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो । चिलीको नौसेनाले अन्टार्टिकाको यात्रामा रहेका जति व्यक्ति थिए, उनीहरु सबैको पीसीआर टेस्ट गराउँदा सबैको नेगेटिभ आएको दाबी गरेको छ ।
बर्नार्डो ओहिगिन्स रिसर्च स्टेसन चिलीको अन्टार्टिकामा चार स्थायी बेसमध्ये एक हो र यसलाई उसकै सेनाले सञ्चालन गर्छ । चिली ल्याटिन अमेरिकाको छैटौं सबैभन्दा बढी प्रभावित देश हो । जहाँ हालसम्म ५ लाख ८५ हजार भन्दा बढी कोरोनाको मामला आइसकेको छ । अन्टार्टिका क्षेत्रमा रिसर्च गर्ने संस्था ब्रिटिस अन्टार्टिक सर्वेले गत अगष्टमा कोरोना भाइरसका कारण उनीहरुले आफ्नो काम कम गरिरहेको जनाएको थियो ।



कागजपत्र |
