खाल्डोमा परेर गैंडा मर्नुमा निकुञ्ज कर्मचारी र सेना पनि दोषी, कारबाही गर्न समितिको सिफारिस


काठमाडौं – चितवनमा सडक बिस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले कर्मचारीसमेत दोषी देखिएको छ । समितिले कर्मचारी पनि दोषी देखिएको ठहर गर्दै चितवन निकुञ्जका कर्मचारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

समितिले प्रतिवेदनमा ुसम्बन्धित निकुञ्ज कार्यालयका कर्मचारीहरूलाई प्रचलित निजामति सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक नगरेकोमा विभागीय कारबाही गर्नुपर्नेु उल्लेख छ ।

प्रतिवेदनमा असावधानीपूर्वक काम गर्ने, गराउने, सुरक्षाको प्रबन्ध नगर्ने, सरोकारवाला निकायहरूसँग समन्वय नगर्ने सडक डिभिजन भरतपुरका पदाधिकारीहरूलाईसमेत निजामति सेवा ऐनअनुसार विभागीय कारबाही गर्न भनिएको छ ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादबले गैंडाको मृत्युबारे छानविन गर्न वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा।राजेन्द्र केसीको संयोजकत्वमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, निकुञ्ज विभागका योजना प्रमुख डिलबहादुर पूर्जा पुन, डिभिजन वन कार्यालय, चितवनका प्रमुख पदम नेपाल र चितवन निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य सदस्य रहेको छानबिन समिति बनाएका थिए ।

समितिले दुई दिनअघि पेस गरेको प्रतिवेदनमा निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणलाई सचेत गराउनसमेत भनिएको छ ।

प्रतिवेदनमा भनिएको , ‘कर्मचारीका साथै नेपाली सेनाको बीस हजारी पोस्ट तथा मध्यवर्ती उपभोक्ता समितिलाई आइन्दा यस्ता घटना नदोहोरिने गरी सम्वन्धित चितवन निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गण तथा समितिले सचते गराउने ।’ वन तथा वातावरणमन्त्री यादबले प्रतिवेदनले दोषी ठहर्‍याएकाहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

पूर्वपश्चिम मेहन्द्र राजमार्गको चितवन भरतपुर गोन्द्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर गत माघ १० गते दिउँसो करिब ११ वर्षको भाले गैंडा मरेको थियो ।

प्रतिक्रिया