निर्मला पन्त हत्याकाण्डः शंकास्पद भारतीय नागरिक थुनामुक्त


काठमाडौं – प्रहरी अनुसन्धानको क्रममा निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा पक्राउ परेका भारतीय नागरिक थुनामुक्त भएका छन्। डिएनए भेजाइलन स्वाबसँग म्याच नभएपछि उनी थुनामुक्त भएका हुन्।

२०७८ मंसिर २५ मा पक्राउ परेका भारतीय नागरिक निकार अलि हसनलाई डिएनए म्याच नभएसँगै थुनामुक्त गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरीले जानकारी दिए।

१४ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका हसन कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै जग्गा भाडामा लिएर तरकारी खेती गर्थे।

सेही घटनामा शंकास्पद लागेपछि प्रहरीले हसनलाई पक्रेको थियो। लगत्तै हसनको डिएनए स्याम्पल केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाइएको थियो।

डिएनएको रिपोर्ट नआउन्जेल कञ्चनपुर प्रहरीले उनलाई अभद्र व्यवहारको आरोपमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर हिरासतमा राखेको थियो। तर डिएनए म्याच नभएसँगै हसन रिहा भएका हुन्।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो।

निर्मलाको हत्या आरोपमा सबैभन्दा पहिले पक्राउ गरिएका दिलिपसिंह विष्टको पनि डिएनए नमिलेपछि रिहा गरिएको थियो।

प्रतिक्रिया