

एमसीसी खारेजीको माग गर्दै २२ दलद्वारा विरोध प्रदर्शनको तयारी

काठमाडौं – नेकपा (मसाल) र क्रान्तिकारी माओवादी सहितका २२ राजनीतिक दल तथा संगठनले एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएका छन्। माघ २६ गते राजधानीमा प्रदर्शनको तयारी गरिएको २२ राजनीतिक दलद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ।
‘राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी बनौँ!’ भन्ने नाराका साथ माघ २६ गते माइतीघर मण्डलामा विरोध प्रदर्शनको आयोजना गरिएको हो।
विज्ञप्तिमा ‘पूर्व र बहालवाला प्रधानमन्त्रीहरु केपी शर्मा ओली एवम् शेरबहादुर देउवाले पटक-पटक यो राष्ट्रघाती सम्झौतालाई संसदबाट पारित गराउने प्रयास गरे पनि असफल हुँदै आएका छन्’ भनिएको छ।
‘फेरि पनि अमेरिकी सरकारको दबावको अगाडि घुँडा टेकेर शेरबहादुर देउवा संसद्मा जसरी पनि एमसीसी प्रस्तुत गरी त्यसलाई पारित गराउने कसरतमा लागेको कुरा व्यापकरुपमा सार्वजनिक भएको छ’ सो विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकताको रक्षा गर्न र हाम्रो देशलाई विदेशी शक्तिहरुको क्रिडास्थल बन्न नदिनका लागि हामी पुनः सडकमा उत्रिन बाध्य भएका छौं।’

