

नयाँ स्वरुपमा कोरोना भाइरस फैलिएपछि भारतद्वारा बेलायती उडानमाथि रोक

नयाँदिल्ली – बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा रोक लगाउने गर्ने निर्णय गरेको छ ।
नयाँ स्वरूपको कोरोना भाइरसको जीवाणु फेला बेलायतभर फैलिसकेको पुष्टि भएसँगै युरोपका अधिकांश मुलुकले सोमबार बिहानदेखि बेलायतसँगको हवाई उडानदेखि रेल सेवामा रोक लगाएका छन् । त्यसको केही घण्टामै भारतले पनि बेलायतसँग सिधा हवाई सम्पर्कमा उडानमा रोक लगाउने गर्ने निर्णय गरेको हो ।
भारतको नागरिक उड्डयन मन्त्रालयले सोमबार ट्वीट गर्दै औपचारिक रूपमा त्यससम्बन्धमा जानकारी गराएको हो । मन्त्रालयले मंगलबारदेखि डिसेम्बर अन्त्यसम्मका लागि बेलायतसँगको हवाई सम्पर्क अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको समेत जनाएको छ । त्यसैगरी बेलायतबाट भारत हुँदै अन्य मुलुक जाने हवाई यात्रुहरूलाई समेत पीसीआर परीक्षण अनिवार्य गरिएको छ । भारतको यो कदमले बेलायतबाट भारत हुँदै नेपाल यात्रा गर्ने नेपालीहरू पनि प्रभावित हुनेछन् । बेलायतमा बस्ने नेपालीहरू र अध्ययनलगायतका विभिन्न प्रयोजनका लागि बेलायत जानेहरूमध्ये ठूलो संख्या भारत हुँदै आउजाउ गर्ने गर्छन् ।
कोरोनाको संक्रमणमा तीव्र वृद्धि देखिएपछि बेलायत सरकारले शनिबार मात्र डिसेम्बर ३० सम्मका लागि लन्डन र देशका अन्य प्रमुख भागहरूमा यही आइतबारदेखि लकडाउन गर्ने निर्णय गरेको थियो । र, यो लकडाउन कम्तीमा पनि दुई सातासम्म काम रहने बताइएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्ममा बेलायतमा २० लाख मानिस संक्रमित भइसकेका छन् र ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । दैनिक रूपमा २८ हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् ।
बेलायतसँगको हवाई सम्पर्कलाई निरन्तर दिँदा कोरोना महामारीको जोखिम बढ्ने देखेर भारतले पछिल्लो निर्णय लिएको हो । भारतमा शनिबार मात्र कोरोना संक्रमितको संख्याले एक करोड नाघेको थियो । सोमबार साँझसम्ममा भारतमा एक करोड ५५ हजारभन्दा बढी संक्रमित भएका छन् । जसमध्ये १ लाख ४५ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ । साथै ९६ लाखभन्दा बढी निको भइसकेका छन् ।
बेलायतमा ठूलो सङ्ख्या भारतीय प्रवासीहरूको छ र त्यहाँ प्रति दिन धेरै उडानहरू हुने गर्छन् । लन्डन र नयाँ दिल्ली तथा लन्डन र मुम्बईबीचमा हुने उडानबाट दैनिक सयौं मानिसहरू बेलायत जाने र बेलायतबाट फर्किने गर्छन् ।

