राजदूत नियुक्तिको तयारीमा सरकार

परराष्ट्रलाई ७ र सत्तासाझेदार दललाई १३ राजदूतको भागबण्डा


काठमाडौं – सरकारले रिक्त रहेका देश तथा नियोगमा राजदूत नियुक्तको तयारी गरेको छ । सरकार गठन भएसँगै अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाएको झन्डै ६ महिनापछि रिक्त रहेका २० नियोगमा राजदूत नियुक्तिको तयारी सुरू गरिएको हो ।

सत्ता गठबन्धनको सोमबार भएको छलफलमा दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्ति र सिफारिसबारे छलफल गरेका हुन् ।

राजनीतिक भागबण्डाको आधारमा राजदूत नियुक्त हुने बताइएको छ । सत्ता गठबन्धनमा परराष्ट्रलाई सात राजदूत तथा सत्तासाझेदार दललाई १३ राजदूतको संख्या दिइएको छ ।

यसअघि सरकारले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि शंकर शर्मा र अमेरिकाको लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो । ती मध्ये आचार्यलाई नियुक्त गरिसकेको छ ।

यससँगै सम्भावित राजदूतको सूचीमा चीनको लागि लीलामणी पोखरेल, रुपक सापकोटा, युवराज चौलागाइँ र ऋषि अधिकारी रहेका छन् । एकीकृत समाजवादीबाट मिलन तुलाधर, प्रमेश हमाल र केशव बस्यालको नाम चर्चामा छ ।

परराष्ट्र स्रोतका अनुसार चीन, जापान, रुस, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, ओमान, कतार, इजरायल, इजिप्ट, साउदी अरब, बहराइनमा राजदूत खाली रहेको छ ।

प्रतिक्रिया