जनगणना तथ्यपरक नभएको भन्दै सांसदहरुकाे आपत्ति, पुनः गणनाको माग


काठमाडौं – केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कको नतिजा तथ्यपरक नभएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर् गणना गर्न समेत माग गरे ।

सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे । उनले काठमाडौंमा सधैँ माइग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नतिजामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए ।

काँग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन् ।उनले गणकहरुलाई घरघरमा पु¥याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन् ।

यता, केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए ।

उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए । महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नतिजाको कामलाई विभागले इमान्दारीताका साथ समयमै सम्पन्न गराएको पनि बताए ।

प्रतिक्रिया