रौतहटमा सवारी दुर्घटना : तीनजनाको मृत्यु


काठमाडौँ – रौतहटमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। बिहीबार राति गरुडा नगरपालिका– ४ बैरियामा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दई जनाको मृत्यु भएको छ। दुर्घटनामा रौतहटकै गढीमाई नगरपालिका– ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मध्यराति गरुडाबाट मलाही जाँदै गर्दा अनियन्त्रित भई मोटरसाइकल पल्टिएको हो। दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

यसैगरी, फतुवा विजयपुर नगरपालिका– ९ बडहर्वामा ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ। अन टेस्ट क्याक्टरले किच्दा स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय मनोज यादवको अन टेस्ट ट्रयाक्टर ब्रेक फेल भई गुड्दा सडकमा खेलिरहेका बालकलाई किचेको इलाका प्रहरी कार्यालय लक्षमियाका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले जानकारी दिए।

दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि ट्रयाक्टर धनी मनोज यादव फरार भएका छन्।

प्रतिक्रिया