फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप काठमाडाैंमा


काठमाडाैं – कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप बुधवार नेपाल आइपुगेको छ ।

फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले बुधवार नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेको छ ।

मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गरे । उनले यो सहयोग नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण भएको बताए ।

फ्रान्सले ६ लाख ८५ हजार ४०० र इटालीले ६ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन् । यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको संख्या ५४ लाख पुगेको छ ।

प्रतिक्रिया