
मनाङ जाँदै हुनुहुन्छ? खोपकार्ड अनिवार्य बोक्नुस् है
मनाङ – काेराेना भाइरसकाे तेस्रो भेरिएन्ट ओमिक्रोन फैलिरहेको अवस्था छ। यसकाे सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोराेनाविरुद्ध खोप लगाएकाे कार्ड अनिवार्य गरिएको छ।
पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार बिनाखोप कार्ड चालकलाई पनि गाडी सञ्चालनमा रोक लगाइएको छ। कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको मनाङमा सङ्क्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अनिवार्य गरिएको उनले बताए।
शून्य कोरोना सङ्क्रमित रहेको जिल्लामा बाह्य जिल्लाबाट प्रवेश गर्ने व्यक्तिमार्फत सङ्क्रमण सर्न सक्ने भनेर उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यले बताए।
“अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रिन्छन्। उनीहरूलाई खोप कार्ड र मास्क अनिवार्य गरेका छौँ। शून्य कोभिड जिल्ला भएकाले सोहीअनुरूपको राख्ने प्रयासमा छौँ,” उनले भने।
प्रजिअ आचार्यका अनुसार मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन्। उनका अनुसार जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, सर्वदलीयका साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना सङ्क्रमण रोक्न सम्पूर्णका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
“अब कोरोनाको सङ्क्रमण उच्च विन्दुमा पुग्न सकिने देखिएको छ। यो अवस्थालाई पार गर्न सकिएमा मनाङमा कोरोना सङ्क्रमणलाई रोक्न सक्ने अपेक्षा छ। यसमा सबैको साथ आवश्यक छ,” प्रजिअ आचार्यले भने।
दैनिकरूपमा कोरोना सङ्क्रमण बढ्दै गएकाले मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौँ, पोखरा, बेँसीसहरलगायत बाह्य जिल्लाबाट प्रवेश गर्ने नागरिकका साथै पर्यटकले पनि पिसाङ स्वास्थ्य चौकी तथा हुम्डे स्वास्थ्य चौकीमा अनिवार्य एन्टिजेन परीक्षण आग्रह गरेको छ।
स्थानीय बासिन्दा जाडो छल्न बाहिरी जिल्ला गएको र अत्यावश्यक काम परेमा उनीहरू गाउँ फर्किन सक्ने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। उनका अनुसार हिमपात रोकिनासाथ उनीहरू गाउँ फर्किनेछन्।



कागजपत्र |
