वर्तमान सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलियोः केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको आरोप लगाएका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन्।’

मुलुकको कार्यकारी अंगका रुपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको बताउँदै ओलीले भने, ‘राष्ट्रिय हितको रक्षामा समेत सरकार चुकेको छ।’

महामारीमा अकर्मण्य बनेको र जनतालाई न्यूनतम राहत दिन समेत असमर्थ भएकाले राज्यका तीनवटै अंगहरू आज संकटोन्मुख रहेको ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने काम गरिरहेको पनि आरोप लगाएका छन्।

पाँच दलीय गठबन्धनका नेताहरुले प्रतिनिधिसभाको निर्वाचन वैशाख २०७९ मा गर्ने कार्ड फ्याँकेर स्थानीय तहको निर्वाचन पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गतल नियतले अगाडि सारिएको आरोप लगाएका हुन्।

‘हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं। हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं। साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन’, अध्यक्ष ओलीले भनेका छन्।

त्यसैगरी ओलीले गत वर्ष आफुले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन्।

यस्तो छ ओलीले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया