संसद विघटन सिफारिस तरङ्ग: हत्तासिँदै बालुवाटार पुगे प्रचण्ड, ओलीले समय दिएनन्


काठमाडौं– आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव गरिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद नयाँ मोडतिर देखा परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त प्रस्तावले राजनीतिक संकट गहिरिने खतरा रहेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिनका लागि प्रधानमन्त्री ओलीलाई बालुवाटारमा नै भेट्न पुगेका थिए। तर प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेट्ने समय नै दिएनन्।

नेकपा स्थायी समितिको बैठक आज दिउँसोका लागि बोलाइएको थियो। उक्त बैठकले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता किन नलिएको भनी सोध्ने तयारी गरेको थियो। अघिल्लो बैठकमा अध्यादेश फिर्ताका लागि स्थायी समितिले ओलीलाई सिफारिस गरेको थियो।

तर ओलीले अध्यादेश फिर्ता लिनुको साटो प्रतिनिधि सभा नै विघटनको नयाँ प्रस्ताव गरेपछि नेकपा विवादमा मात्र नभएर अब विभाजनको बाटोमा लागेको छ।

यसैबीच, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको प्रस्ताव असंवैधानिक कदम भएको टिप्पणी गरेका छन्। लोकतान्त्रिक पद्धती र प्राप्त उपलव्धीलाई धोका दिने नियतले संसद विघटनको प्रस्ताव गैरकानुनी रुपमा गरिएको उनको टिप्पणी छ।

उता नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पनि यसको विरोध गरेका छन्। उनले प्रधानमन्त्री ओलीले बहुमत गुमाएपछि सत्तावादी चरित्र देखाएको प्रारम्भिक टिप्पणी गरेका छन्। 

प्रतिक्रिया