

यसकारण राप्रपाका तीनै अध्यक्ष ‘नक्कली’ राजावादी हुन्

काठमाडौं– राजसंस्था र हिन्दूत्वको पक्षमा प्रदर्शनका सुरुआती दिनमा मकवानपुरमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाविरुद्ध नै नाराबाजी भयो।
राजसंस्था र हिन्दूत्वको नाममा राजनीति गरे पनि थापा नक्कली राजावादी भएको स्वतन्त्र रुपमा आन्दोलित भएका विविध समूहका नेताले बताउने पनि गरेका छन्।
अहिले सडकमा राजसंस्था र हिन्दूत्वका पक्षमा बलियो जनमत देखेपछि राप्रपा संस्थागत रुपमा नै राजसंस्था र हिन्दू राज्यको नारालाई आफ्नो मुद्दा बनाउन थालेका छन्। तर यो प्रदर्शन र राष्ट्रिय झन्डासहित मैदानमा उत्रिएका राप्रपाको झन्डा जुलुसमा देख्न चहाँदैनन्।
अभियानकर्मी अधिवक्ता सुरेन्द्र भण्डारी भन्छन्,‘पार्टीको झन्डा छाडेर आए हामी स्वीकार गर्छौं तर यो स्वतन्त्र ढंगबाट उठेको जनताको आवाज हो, यसलाई राजनीतिकरण गर्न दिनेछैनौं।’
विभाजित अवस्थामा रहेका बेला पनि राप्रपाका तीनै अध्यक्षले राजसंस्था र हिन्दूत्वको मुद्दालाई सत्ता र व्यवस्थामा आफूलाई सुरक्षित राख्ने अवस्थाका रुपमा उपयोग गरेको बताइन्छ।
‘कमल थापाले राजतन्त्र र हिन्दूत्वको नाममा जनमतमा २५ सिटसम्मको अवस्था आयो। तर तिनले उपप्रधान तथा परराष्ट्र मन्त्रीका लागि यो मुद्दालाई साटे र संविधान गणतन्त्र स्वीकार गरी केपी ओली सरकार गए’, राजावादी अभियन्ताहरूको आरोप छ।
राप्रपाको अर्का अध्यक्ष पशुपति शमशेर राणाले त सार्वजनिक फोरममा नै हिन्दू गणतन्त्र आफ्नो पार्टीको लाइन बताएका थिए। राजावादी उनको त्यो भाषणबाजीका कारण रुष्ट थिए। ‘त्यसबेला अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पनि उनकै साथमा थिए। यस्ता नक्कली राजावादीहरुले भोली फेरि मूल मुद्दा नै किनारा लगाउन सक्छन्’, अभियन्ताहरू भन्छन्,‘त्यसैले अहिलेका कतिपय प्रदर्शनमा उनीहरूविरुद्धको रोष जनताले पोखिरहेका छन्।’
राजसंस्था र हिन्दूत्वका पक्षमा जनस्तरमा आवाज बलियो बनाउनका निम्ति शिव सेना नेपाल, शाही युवा शक्तिलगायतका स्वतन्त्र समूह सक्रिय रहेका थिए। यसबाहेक भण्डारी, अधिवक्ता बालकृष्ण न्यौपानेहरूको अर्को समूह बौद्धिक रुपमा नै सक्रिय भएको थियो।
‘जसले स्वतन्त्र रुपमा नै राजसंस्था र हिन्दूत्वका विषयमा आवाज उठाए तिनको योगदानलाई विर्सन हुन्न, यो देशमा विदेशी हस्तक्षेपको विरोध गर्नेहरू नै असली राजावादी हुन्’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘कसको कति योगदान छ भन्ने विषयलाई जनताले निर्णय गर्छन् तर यतिबेला राजसंस्थाका निम्ति बलियो आवाजमा सबैको साथ चाहिएको छ।’
सडकमा सर्वसाधारणको बलियो उपस्थिति गराएका स्वतन्त्र राजावादी संघ संस्थाले यो आवाजको जस लिन सक्ने भएपछि राप्रपाले १२ पुसदेखि राजसंस्था र हिन्दूत्वका पक्षमा कार्यक्रमको आयोजना गरेको बुझाई कतिपयको छ। ‘यी आवाजले त बल पुग्छ नै। तर राप्रपाका यी तीनै अध्यक्षको पछिको भूमिका के हुन्छ? रवैया कस्तो हुन्छ भन्नेमा निगरानी गरिनुपर्छ’, निर्मलनिवास निकट स्रोतले भन्यो।
पूर्वराजा ज्ञानेन्द्र शाहले भने राप्रपाबाट राजेनद्र लिङ्देनलाई विश्वासमा लिएका छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा पनि खास मानेका छन्। यी दुवै राप्रपाभित्रका इमानी र राजसंस्था र धर्म निरपेक्षताविरुद्ध सँधै बोलिरहेका मात्रै होइनन्, पार्टीभित्र पनि असहमतिको मत राख्ने नेतामा पर्छन्।

