

आज रिट खारेज भएपछि संवैधानिक परिषदको बैठक बोलाउने ‘मुड’मा प्रधानमन्त्री ओली!

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारसम्म संवैधानिक परिषदसम्बन्धी जारी भएको अध्यादेश फिर्ताको प्रक्रिया नथाल्ने भएका छन्। आइतबार बिहान भने मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर अध्यादेश फिर्ताको निर्णय गर्न सक्ने बताइएको छ। सोही दिन स्थायी समितिको बैठक दिउँसोका लागि डाकिएको छ।
प्रधानमन्त्री ओली अध्यादेशमार्फत संवैधानिक परिषदको बैठक राखी केही महत्वपूर्ण आयोगमा बहुमतका आधारमा नै सिफारिस गर्ने तयारीमा छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका केही आयोगमा प्रमुखको नियुक्ति बहुमतका आधारमा नै गर्ने मुड बनाएका छन्।
विहीबारको बैठकमा पनि बहुमत पुराउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको उपस्थिति अनिवार्य हुनुपर्ने थियो। सो अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता रहेका कारण प्रधानन्यायाधीश विहीबार उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको थियो। अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका थिए।
शुक्रबार (आज) सो रिटबारे सर्वोच्चले निर्णय दिने भएको छ। उच्च स्रोतका अनुसार उक्त रिटबारे एउटा खास निर्णय सर्वोच्चले दिनेछ। सम्भवतः रिट खारेज भएको अवस्थामा प्रधानमन्त्री ओलीले आजै वा शनिबारका लागि संवैधानिक परिषदको बैठक डाक्न सक्ने अनुमान गरिएको छ।
‘केही नियुक्तिका निर्णय गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यसलाई विन–विनको अवस्थाका रुपमा पनि निर्णय दिने कोशीश मान्न सकिन्छ’, स्रोतले भन्यो,‘त्यसपछि अध्यादेश फिर्ताको निर्णय पनि गराइनेछ।’
विहीबार बैठक डाकेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय पनि जोडिएका कारण एक दुई दिनमा अध्यादेश फिर्ता गर्ने बताएका थिए। सोही अडानअनुसार बिहीबारको मन्त्रिपरिषदको बैठकमा उनले अध्यादेशलाई एजेन्डा समेत बनाएनन्।
तर अध्यादेश फिर्ताको सर्वसम्मत निर्णय नेकपा स्थायी समितिले गरेको थियो, जहाँ प्रधानमन्त्री ओली आफैं पनि सहभागी रहेका थिए। पार्टीको निर्णयलाई पनि कार्यान्वयन हुनेगरी आकस्मिक मन्त्रिपरिषद डाकेर स्थायी समितिको अर्को बैठकअघि अध्यादेश फिर्ता लिइने उच्च स्रोतको दाबी छ।

