ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


तुलसीपुर – दाङमा मोटरसाइकल र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति पौने ७ बजेतिर तुलसीपुरबाट घोराही जाँदै गरेको रा २ प १८४० नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेट लु.अ. प. १२५६ नम्बरको जीप ठोक्किएको थियो।

मोटरसाइकल र जीप ठोक्किएर अनियन्त्रित भई विपरित दिशातर्फबाट आउँदै गरेको ना ७ ख ५३१२ नम्बरको टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही–११ बुकालीडाँडा नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक घोराही–१० निवासी ५३ बर्षीय पदम बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालका अनुसार सोहि ठाउँ बस्ने ४६ बर्षीय मदन बस्नेत र घोराही ११ बस्ने ४६ बर्षीय टेक बहादुर बस्नेत घाइते भएका छन्।

घाइतेमध्ये मदनको सामान्य उपचार पछि शनिबार राति नै डिस्चार्ज भएको हो भने टेकबहादुरको थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।

प्रहरीले जिप चालक र टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया