
नेपाल पस्यो हिमपात–वर्षा गराउने प्रणाली
काठमाडाैँ – हिमपात–वर्षा गराउने मौसम प्रणाली नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली मंगलबार राति प्रवेश गरेको हो। यो पश्चिमबाट क्रमशः पूर्व सर्दै देशभर फैलिने उनले जानकारी दिए।
‘अहिले यो लुम्बिनी प्रदेशसम्म आइपुगेको छ’, मौसमविद् श्रेष्ठले बुधबार बिहान भने, ‘यसपछि क्रमशः पूर्व हुँदै देशभर फैलिन्छ।’
यसबारे मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो विशेष बुलेटिन जारी गरेर जानकारी दिइसकेको छ। बुलेटिनअनुसार उक्त मौसम प्रणाली शनिबारसम्म देशभर फैलिने सम्भावना छ।
महाशाखाद्वारा आज (बुधबार) बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले देशका अधिकांश स्थानमा मौसम आंशिक (थोरै आकाशमा बादल) सामान्य (धेरै आकाशमा बादल) बदली छ।
आज दिउँसो भने देशभर सामान्य बदली रहनेछ। साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ साथै यी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
यस्तै राति पनि देशभर सामान्य बदली रहनेछ। अनि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सम्भावना छ भने यिनै प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा जानकारी दिइएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तनबारे जानकारी लिई मौसम पूर्वानुमानसम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ।



कागजपत्र |