
निर्मला कुर्मी प्रकरण : छानविनको जिम्मा सीआईबीलाई दिन गृहको निर्देशन
काठमाडाैँ – बाँकेको नेपालगन्जकी निर्मला कुर्मी घटनाबारे अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिन गृह मन्त्रालयले निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयलाई मंगलबार पत्र लेख्दै गृहले घटनाको अनुसन्धानमा सीआईबी खटाउन निर्देशन दिएको हो।
पत्रमा निर्मलाको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी घटनाबारे छानबिन गर्न भनिएको छ।
यो प्रकरणलाई लिएर रुवि खानसहितका महिलाले आन्दोलन चर्काएपछि गत असोज ३१ गते गृह मन्त्रालयले सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन कमिटी बनाएको थियो।
यो कमिटीले घटनाको अनुसन्धानमा बाँके प्रहरीको गम्भीर लापरबाही ठहरसहित सीआईबीबाट छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने सुझाव दिएको थियो।
उक्त कमिटीको सुझावसहितको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गृह मन्त्रालयले मंगलबार यो निर्देशन दिएको हो। नेपालगन्ज उपमहानगरपालिका-१७ निवासी एकल महिला निर्मलाको अवस्था अहिलेसम्म अज्ञात छ।
बाँकेकै जानकी गाउँपालिका-२ नेवाजी गाउँकी नन्कुनी धोबीको हत्याबारे पनि गृहको कमिटीले छानबिन गरेको थियो। त्यस घटनामा श्रीमान् र जेठाजुलाई प्रहरीले अनुसन्धानको दायरामा तानेको छ।
महिलाहरुको निरन्तरको आन्दोलन र चर्को दबाबपछि प्रहरीले नकुन्नीको कालगतिले मृत्यु भएको दाबीसहितको रिपोर्ट सार्वजनिक गरेको थियो।
उनको मृत्यु कालगतिले नभएर सम्पत्ति कब्जा गर्न अपहरणपछि हत्या गरिएको दाबी महिला अधिकारकर्मी र आफन्तले गरिरहेका छन्
यसअघि पनि यी दुई घटना अनुसन्धानका लागि सीआईबीको टोली खटाउन माग भएको थियो। त्यसबाट दबाबमा परेको गृह मन्त्रालयले सीआईबी खटाउन निर्देशन दिएको छ।




कागजपत्र |
