ओमिक्रोन भेरियन्टका कारण फ्रान्समा कडा प्रतिबन्ध घोषणा


काठमाडौं – फ्रान्सले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण कडा प्रतिबन्धहरु घोषणा गरेको छ।

जनवरी ३ देखि स्वास्थ्यका सम्पूपर्ण मापदण्ड कडाइका साथ लागू गर्न फ्रान्स सरकारले मातहतका निकायहरुलाई निर्देशन दिएको हो। घरबाटै काम गर्न सक्ने प्रकृतिका कर्मचारीहरुलाई ‘रिमोर्ट वर्किङ’ अनिवार्य गरिने भएको छ। त्यस्तै हलहरुमा हुन सक्ने कार्यक्रममा बढीमा २ हजार र बाहिर हुने कार्यक्रममा बढीमा ५ हजार उपस्थित गराउन पाइने छ।

अर्को सूचना नभएसम्मका लागि रात्रिकालीन क्लबहरु बन्द गरिने भएको छ। घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने छ। फ्रान्समा शनिबार १ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएपछि सरकारले स्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको हो। यो संख्या कोरोना संक्रमण फैलिएयताकै ठूलो हो। नयाँ वर्षको पूर्वसन्ध्यामा कफ्र्यु लगाउने निर्णयबाट भने सरकार पछि हटेको छ।

यसैबीच अमेरिकाले लक्षण नदेखिएका कोरोना संक्रमितले आइसोलेसनमा बिताउनुपर्ने अवधिलाई दश दिनबाट घटाएर पाँच दिन कायम गरेको छ। सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिन मास्क लगाउन सुझाव दिएको छ। कोभिड संक्रमणमा वृद्धि भएर अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा आएको हो।

ओमिक्रोन भेरियन्टले अस्पतालमा भिडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति जो बाइडेनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया