‘रौनियारलाई पक्राउ गरिएको छ, अनुसन्धान जारी छ’
काठमाडौं– ठगीको उजुरी परेपछि मोरङ प्रहरीले बिराटनगर–९का मन्टु भनिने सञ्जय रौनियारलाई पक्राउ गरी अनुसन्धानको दायरमा ल्यायो। प्रहरीमा परेको उजुरीका आधारमा रौनियारमाथि थप अनुसन्धान र ठगी गरेको प्रमाणहरूका लागि प्रहरी अनुसन्धानका क्रममा नै छ।
सोमबार साँझ रौनियारलाई पक्राउ गरी परेको उजुरी र ठगी हो या होइन भन्ने विषयमा मिहिन ढंगले छानबिन भइरहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्काले बताए।
रौनियारविरुद्ध तीन जनाले ठगेको जाहेरी दिएका थिए। कतिपयले मिटरव्याजमा रकम लगानी गर्ने व्यक्तिका रुपमा रौनियारलाई व्याख्या गरेका छन्।
‘हामीलाई ठगी गरेको भन्ने उजुरी आएको हो, ठगी कसरी र कस–कसलाई गरियो भन्ने हिसाबले अनुसन्धान हुन्छ’, एसपी खड्का भन्छन्।
एक दसकयता रौनियारले विराटनगर र आसपास ग्रामीण क्षेत्रका जनतालाई ब्याजमा पैसा लगानी गर्दै आएका थिए। रौनियारले कस–कसलाई कसरी पीडित बनाएर ठगी गरे भन्ने विषयमा प्रहरीले निक्कै गहिरोसँग नै अनुसन्धान थालिसकेको छ।