बिचौलियाको नाममा ललितानिवासको २३ रोपनी जग्गा, लगानीको स्रोत खोज्दै सिआइबी


काठमाडौं – बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा लैजान बिचौलियाको भूमिका खेल्ने रामकुमार सुवेदी र उनको परिवारको नाममा २३ रोपनी जग्गा भेटिएको छ । सो जग्गा खरिदमा सुवेदी परिवारको आर्थिक स्रोतको प्रहरीले खोजी सुरु गरेको छ ।

बिचौलिया सुवेदी र उनकी श्रीमती माधवीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । ‘त्यतिवेला पनि २३ रोपनी जग्गाको मूल्य करिब एक अर्ब देखिन्छ,’ सिआइबी स्रोतले भन्यो, ‘त्यो पैसा लगानी गर्ने हैसियत उनको छैन, केही नेताहरूले उनको नाममा जग्गा राखेको सूचनाका आधारमा छानबिन सुरु भएको हो ।’

ललितानिवास परिसरको जग्गा हिनामिनासम्बन्धी प्रकरणमा सिआइबीले किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । जसमा संलग्न मुख्य बिचौलिया सुवेदी र शोभाकान्त ढकालसँग प्रहरीले बयान लिइरहेको छ । सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो भने ढकाल सोहीसम्बन्धी भ्रष्टाचार मुद्दामा थुनामा रहेकामा कारागारबाट झिकाएर अनुसन्धान थालेको हो ।

‘दुवै बिचौलियाको उच्च राजनीतिक कनेक्सन देखिन्छ,’ स्रोत भन्छ, ‘त्यो कनेक्सन खोज्ने प्रयास गरेका छौँ ।’ कर्मचारी मात्र होइन, मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी उनीहरूले आफूअनुकूल निर्णय गराएका थिए । त्यसबापत विभिन्न नेताहरूलाई जग्गा नै घुस दिएको सूचना सिआइबीको छ । नयाँ पत्रिका

प्रतिक्रिया