‘धुर्वे’को उदण्डता विर्साउने ‘मकुना’ हात्ती, मार्ने प्रक्रियामा प्रशासन
काठमाडौं– कुनै बेला आतंक नै मच्चाएको धुर्वे हात्तीको उदण्डता विर्साउनेगरी अर्को ‘मकुना’ हात्तीको कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमा उदय भएको छ।
आरक्ष आसपासका गाउँ बस्तीमा उदण्ड मच्चाउनेदेखि मान्छेको ज्यानै लिनेसम्मको उदण्डता गरेपछि मकुना मार्ने प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रक्रिया थालेको छ।
प्रमुख जिल्ला अधिकारी (सीडिओ) फडिन्द्रमणि पोखरेलले हात्ती नियन्त्रणमा लिन सर्वसाधारणले अनुरोध गरेपछि वन्यजन्तु आरक्षमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा मार्नका लागि अनुमति माग गरेका छन्। उनले भने,‘पत्राचार गरिएको छ, जवाफ आएको छैन।’
सोमबार मकुनाकोे आक्रमणबाट कोशी गाउँपालिका–६ का ३२ वर्षीय प्रमोद यादवको मृत्यु भएको थियो। गँहुबारीमा पानी लगाउन जाने क्रममा बिहान साढे ५ बजे ‘मकुना’ले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
मकुना दाह्रा नभएको कोशी टप्पु क्षेत्रमा डुल्ने भाले हात्ती हो । आरक्ष कार्यालयले नै दाह्रा नभएको मकुनालाई आफ्नो क्षेत्रको नायकको रूपमा व्याख्या गरेको छ।
‘यसमा कुनै शङ्का छैन । जम्मा १७ जङ्गली हात्ती मध्ये मकुना यहाँको स्थायी हात्ती हो । सामान्यरुपमा भाले जातिका वन्यजन्तु एक्लै बस्छन् । तर आरक्षमा ९–११ मत्ता हात्ती समूहमा देखिन्छन् । यो आरक्षमा जङ्गली हात्ती सहजै अवलोकन गर्न सकिन्छ।’
सिडिओ पोखरेलले कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरीसँग परामर्श गरेका थिए। न चौधरीले हात्ती ह्रिंसक वा पागल भएमा कानुनअनुसार मार्न सकिने राय दिएपछि प्रक्रिया बढाएका हुन्।
स्थानीय प्रशासन ऐन मात्र हैन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ को दफा १० को उपदफा (क) मा बौलाएको हात्ती मार्न सक्ने आरक्षका वार्डेन चौधरीले बताए ।
कोशी टप्पु वन्यजन्तु आरक्ष तिन जिल्लाका ५ स्थानीय तहमा फैलिएको छ । ५ ओटा स्थानीय तह मध्ये आरक्षको जङ्गली जनावर निस्किएर ‘बढी’ तनाव दिने क्षेत्र भने कोशी गाउँपालिका हो । गाउँपालिका भित्र मात्र हात्तीको आक्रमणबाट अहिलेसम्म आधा दर्जन भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
जनताको आँखा अगाडि मृत्यु देखेका गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले भने हात्ती मारेर मात्र समस्याको समाधान नहुने बताए। हात्तीलाई आरक्ष भित्र मात्र बस्न सक्ने व्यवस्था राज्यले गर्नु पर्ने तर्क उनको छ।
कुनैबेला धुर्वे हात्तीको आतंक व्यापक थियो। उक्त हात्तीले नेपालको चितवनलगायतका क्षेत्रमा व्यापक उदण्डता मच्चाउने गरेको थियो। पछि आफैं उक्त क्षेत्रबाट एकाएक गायब भएको थियो।