

‘आई एम अ फ्रि बर्ड’ भन्दै रञ्जुले छाडिन् विवेकशील साझा (विज्ञप्तिसहित)

काठमाडौं — विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् ।
रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् ।
रञ्जुले सामाजिक सञ्जालमा ‘आई एम अ फ्रि बर्ड’ भन्दै दुई पेज लामो पार्टीभन्दा माथि देश भन्दै विज्ञप्ति निकालेकी छिन् ।
अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।
सके राजनीतिमा फोहोर सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’

