प्रदेश २मा यादव प्यानल जिताउन देउवाले खटाए गणेश लामा र इन्द्र बानियाँ !


जनकपुर –  नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज (बुधबार) मतदान भइरहेको छ । प्रदेश नं. २ प्रदेश सभापतिका लागि संस्थापन पक्ष र इतरपक्षका दुई उम्मेवार चुनावी मैदानमा रहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संस्थापन पक्षको उम्मेदवार कृष्ण यादव प्यानलको सहयोगका लागि केन्द्रीय सदस्य गणेश लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँलाई खटाएका छन् । सभापति देउवाले संस्थापन समूहको प्यानललाई सहयोग गर्न केन्द्रीय सदस्य लामा र प्रदेश सभापति बानियाँलाई जिम्मेवारी दिएर जनकपुर पठाएका हुन् । उनीहरू मंगलबार नै जनकपुर पुगेको पनि जनाइएको छ ।

जनकपुरको गोपाल धर्मशालामा भईरहेको मतदानस्थल बाहिर यादव प्यानलका कार्यकर्ताले निकालेको जुलुसमा लामा र बानियाँ सहभागी भएका थिए ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षबाट कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित चुनावी मैदानमा छन् ।

संस्थापन समूहबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ तथा सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै संस्थापन इतर समूहबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीकै हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया