

नेपाली सेना सक्रिय हुने संकेत, हिंसाविरुद्ध प्रधानसेनापतिको एउटा ब्रिफिङ

काठमाडौं– नेपाली सेना सक्रिय हुने संकेत प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक ब्रिफिङका क्रममा गरेका छन्। यसको पछिल्लो कारण भने मोरङ मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द समूहद्वारा गरिएको क्रुर हत्या बनाइएको छ।
पृतनापतिहरूको अघिल्लो सम्मेलनका क्रममा पनि विप्लव समूहप्रति निगरानी राख्ने काममा प्रधानसेनापतिको निर्देशन थियो। अहिले देशका विभिन्न ठाउँमा रहेका सैनिक अड्डाहरूको भ्रमणका क्रममा उनले निगरानी र चातुर्यताका साथ बस्नका लागि निर्देशन दिएका छन्।
व्यक्ति हत्या, जनसरकार घोषणा, विष्फोटन जस्ता गतिविधि विप्लव समूहले गरेपछि यसले हिंसाको अर्को आकार लिन सक्ने सैनिक अधिकारीहरूको विश्लेषण छ। त्यसलाई तत्काल रोक्नका लागि नेपाली सेना नै सक्रिय हुनुपर्ने अवस्था समेत आउने भएकाले प्रधानसेनापति थापाले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग पनि बेलामौका सूचना संकलनका लागि निर्देशन गरेका छन्।
तत्कालिन माओवादी युद्धका बेला सेनाको नेतृत्वमा सुरक्षाका तीनै अंगसहितको युनिफाइड कमान्ड गठन भएको थियो। सोही झल्को दिनेगरी समन्वयका लागि थापाले निर्देशन दिएका विवरण आएका छन्।
थापाले असन्तुष्ट समूह आपराधिक क्रियाकलापमा संलग्न भएर समाजमा हिंसा र आतंक सिर्जना गर्दै जानसक्ने अवस्थाप्रति पनि सजग रहन भनेका छन्।
‘राज्यले आतंक मच्चाउने समूहविरुद्ध कुनै पनि प्रकारको रणनीति बनाउन सक्छ। सुरक्षा रणनीतिमा सेना अगाडि हुन सक्छन्, यसकारण सजग रहनु’, ब्रिफिङमा थापाले भनेको उच्च स्रोतले भन्यो,‘आन्तरिक होस् वा बाह्य सुरक्षा खतराबारे हामी चिन्तित हुनुपर्छ।’
विप्लव समूहका गतिविधिमा प्रहरीले फ्रन्टलाइनमा काम गर्न नसकेको खण्डमा सेना अगाडि आउन सक्ने थापाको संकेत थियो। कतिपय सैनिक अधिकारीले विप्लवका सैन्य गतिविधि भएको सूचना रहेका कारणले नेपाली सेना सजग रहनुपर्ने बैठकका क्रममा भनेको पनि बताइएको छ।

