ओआइसीद्वारा अफगानिस्तानलाई आवश्यक मानवीय सहयोग जुटाउने प्रतिवद्धता


काबुल – इस्लामिक राष्ट्रहरुको संगठनले अफगानिस्तानमा आवश्यक मानवीय सहयोग जुटाउने भएको छ । अर्गनाईजेसन अफ इस्लामिक को–अपरेसनको बैठकले तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक संकटमा फसेको अफगानिस्तानलाई सहयोग जुटाउने प्रतिबद्धता जनाएको हो ।

आगामी वर्ष २०२२ को शुरुदेखि नै इस्लामिक डेभलमेन्ट बैंक मार्फत अफगानिस्तानमा सहयोग शुरु गर्ने निणर्य गरिएको हो । तालिवानले सत्ता कब्जा गरेपछि विश्व समुदायले अफगानिस्तानको अर्बौं डलर बराबरको सम्पति रोक्का गरिदिँदा अफगानिस्तानमा चरम आर्थिक संकट उत्पन्न भएको छ ।

जसका कारण त्यहाँ लाखौं मानिस भोकमरीको चपेटामा परेका छन् भने सरकारले सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा डाक्टर र नर्सलाई समेत तलब दिन नसक्ने अवस्था आएको छ । त्यहाँको बैंकिङ प्रणाली समेत लगभग ध्वस्त भइसकेको छ ।

इस्लामिक राष्ट्रहरु सम्मिलित संगठनले अफगानिस्तानलाई महिला, केटाकेटी, युवा तथा ज्येष्ठ नागरिकका मानव अधिकार संरक्षणमा ध्यान दिन पनि आग्रह गरेको छ ।

तालिवान सरकारका प्रतिनिधि बैठकमा सहभागी भए पनि वैठकपछिको फोटो सेसनमा तालिवान विदेशमन्त्री अमीर खान मुत्ताकीलाई भने सहभागी गराइएको थिएन । एजेन्सी

प्रतिक्रिया