

कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतो नियुक्त

धनुषा – प्रदेश २ सरकारले कृषि विश्वविद्यालयका उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।
प्रदेश २ को महत्वपुर्ण कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातसँगै मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपति नियुक्त गरेका छन् ।
नवनियुक्त उपकुलपति डा. महतो प्रदेश २ को नीति तथा योजना आयोगका पूर्व सदस्यसमेत हुन् । सिरहाको मिर्चैया नगरपालिका-२ का डा. महतोलाई विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री राउतले नियुक्त गरेका हुन् ।

