मनाङमा भीरबाट खसेर झण्डै एक दर्जन भेडाबाख्रा मरे


मनाङ – हिमाली जिल्ला मनाङमा सवारी साधनदेखि तर्सिएर भाग्दा भीरबाट खसेर झण्डै एकदर्जन भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै बेसी झर्ने क्रममा रहेको भेडीगोठ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत खोत्रो भन्ने स्थानमा सवारी साधनसँग तर्सिएर भेडाबाख्रा भागेका थिए ।

मनाङको चामे गाउँपालिका वडा नम्बर १ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङलगायतले सञ्चालन गरेको सिद्धार्थ भेडाफार्मका नौ भेडा र दुई बाख्रा मरेका हुन् । भेडीगोठ बेसी झार्ने क्रममा मंगलबार खोत्रो आइपुग्दा चामेतर्फबाट आएको जिप र चामेतर्फ जाँदै गरेको मोटरसाईकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडाबाख्रा भीरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएकाे छ ।

कार्यालयका अनुसार भीरबाट ३१ भेडाबाख्रा खसेकोमा दुईवटा बाख्रा र नौवटा भेडा घटनास्थलमै मरेका हुन् । सडक छेउमै रहेको भीरबाट करिब १५ मिटर तल खसेर भेडाबाख्रा मरेका हुन् । खवर प्राप्त भएसँगै कार्यालय प्रमुखसहित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको टोली घटनास्थल पुगेर अनुगमनसमेत गरेको छ ।

स्थलगत अनुगमनको क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडाबाख्राको उपचारसमेत गरिएको र मरेका भेडाहरुको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रियाअघि बढाइएको कार्यालयले जनाएकाे छ ।व्यावसायिक भेडाबाख्रा पालन हुँदै आएको सिद्धार्थ भेडाफार्ममा अहिले पाँच सय भेडाबाख्रा छन् ।

गर्मी मौसममा समुद्री सतहबाट तिनहजार मिटर माथि उचाइमा पुग्ने मनाङका भेडीगोठ चिसो बढेसँगै लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् । चिसो बढेसँगै बेसी झर्ने क्रममा सो घटना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले जनाएको छ ।

प्रतिक्रिया