सर्वसम्मत प्रस्तावको विरोध गर्ने सबैलाई पदाधिकारी बनाउने व्यवस्था छ : सूर्य थापा


काठमाडौँ – चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनको आइतबारको बन्दसत्र सुरु हुनुअघि नै सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल भइरहेको एमाले नेताहरूले बताएका छन् ।

जारी बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि सहमतिको लागि पहल भइरहेको र निर्वाचन समितिले पनि आफ्नो काम गरिरहेको एमाले नेता सूर्य थापाले बताए ।

थापाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रस्तावको विरुद्ध उठ्नेहरू सबैलाई पदाधिकारी बनाउने व्यवस्था भएको बताउँदै भने- ‘सबैले रोजेको र खोजेको पद त कसैले पनि पाउँदैन । अहिले भइरहेका पदमा सबै पदाधिकारी सबैलाई भइरहेका पदमा व्यवस्थापन गर्ने कुरा भइराखेको छ ।’

बन्दसत्रको हलले हिजो अध्यक्ष ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने र त्यसका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै यसअघिका संगठन विभाग प्रमुख एवं अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव गरेका थिए । ।

उनले अध्यक्षलाई केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूको नाम प्रस्ताव गर्ने अधिकार दिन बन्दसत्रको हलमा प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई हलले अनुमोदन गरेको थियो । उपाध्यक्ष भीम रावलले भने त्यसमा विरोध जनाएका थिए ।

प्रतिक्रिया