एमाले महाविधेवशन: पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने तयारीमा ओली, बिहानदेखि नेताहरुको दौडधुप


काठमाडौं – चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै छन् ।

बन्दसत्रको हलले हिजो अध्यक्ष ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने र त्यसका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै यसअघिका संगठन विभाग प्रमुख एवं अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव गरेका थिए । ।

उनले अध्यक्षलाई केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूको नाम प्रस्ताव गर्ने अधिकार दिन बन्दसत्रको हलमा प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई हलले अनुमोदन गरेको थियो । उपाध्यक्ष भीम रावलले भने त्यसमा विरोध जनाएका थिए । केन्द्रीय सदस्य र ३ वटा केन्द्रीय आयोगहरू अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य बन्दसत्रको हलमा सिफारिस गर्ने अधिकार ओलीलाई दिएसँगै आज बिहानदेखि नेताहरुको दौडधुप चलेको छ ।

ओलीलाई नेताहरू शंकर पोखरेल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताले सघाइरहेका छन् । एमालेले आज नेतृत्व चयनको काम सक्ने र भोली बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया