
राखेपमा नयाँ सदस्यसचिव आउँदैः चौलागाईं, घिसिङ र महर्जन मुख्य प्रतिष्पर्धी
काठमाडौं – राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा तिब्र प्रतिस्पर्धा हुने देखिएको छ। युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका दरखास्त आह्वान गरेको थियो।
त्यसका लागि खेल क्षेत्रमा लागेका विभिन्न राजनीतिक दल आवद्ध व्यक्तिहरुले दरखास्त दिएका छन्। दरखास्त दिने आज अन्तिम दिन हो।
सदस्य सचिवको लागि देवराज चौलागाईं, टेकलाल घिसिङ, युवराज लामा, राजकुमार कार्की, भरत महर्जन, केशव विष्ट, दिपक विष्ट, डा. अचुतम लामिछानेले पनि चासो देखाएका छन्।
अहिलेसम्म १० जनाले दरखास्त दिएको मन्त्रालय निकट स्रोतले बतायो। दरखास्त दिने मध्ये चौलागाईं, महर्जन र घिसिङ मुख्य प्रतिष्पर्धीको रुपमा देखिएका छन्। माओवादी केन्द्रका नेता चौलागाईं पार्टीको काठमाडौँ जिल्ला कमिटी सदस्य हुन्।
त्यस्तै माओवादी नेतासँग खास देखिएका व्यापारी महर्जन सुमेरु ग्रुपका अध्यक्ष हुन् भने घिसिङ म्यानपावर व्यवसायी हुन्।
देउवा सरकारले कात्तिक १ गते राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई समेत पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
विशेष अदालतले राखेपका बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बुधबार प्राप्त रिटमाथि सुनुवाई गर्दै अदालतले मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गर्ने युवा तथा खेलकुद मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतले दुवै पक्षलाई छलफलका लागि अर्को साता बोलाएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मंसिर ३ गते परिषद् अध्यक्षको हैसियतमा तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका ९ जना बोर्ड सदस्यको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए।
बोर्ड सदस्यहरु सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ र रिम रानाभाटले अदालतमा मुद्धा दायर गरेका थिए। राखेपका ६ जना बोर्ड सदस्यले दायर गरेको रिटमाथि विशेष अदालतले बिहीबार अन्तरिम आदेश जारी गरेको हो।



कागजपत्र |
