स्वास्थ्यमा सुधार नआएपछि वर्षमान पुनलाई थप उपचारको लागि चीन लगियो


काठमाडौं – डेढमहिनादेखि थाइल्यान्डमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ ।

विश्वमै देखिने जटिल प्रकृतिको जण्डिसका कारण पुनको डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार जारी राखिएको थियो । उपचारका क्रममा स्वास्थ्यमा थप सुधार नआएपछि पुनलाई चीनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जनाए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन गएको जनाइएको छ । पुनको आजैदेखि चीनमा उपचार सुरु हुने पनि जनाइएको छ ।

पुनको काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईँले बताए ।

बंशाणुतग रूपमा रहेको जण्डिस दोहरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए ।

यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो ।

 

प्रतिक्रिया