

जबराको बहिर्गमनका लागि सहयोग गर्न सभामुखलाई बारको आग्रह

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई नेपाल बार एशोसिएसनले आग्रह गरेको छ ।
सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए ।
महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए ।
जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको पनि बारले आरोप लगाएको छ ।

