ए डिभिजन लिग : उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्सको गोलरहित बराबरी


काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमामा नवप्रवेशी  दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न  नसक्दा गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन ।

खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको हो ।

खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए । यस बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १–१ अंक पाएको छ ।

लिग अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया