बजार अनुगमन : कम गुणस्तर भेटिएका तीन सिमेन्टको बिक्री रोक्का


काठमाडौं – गुणस्तर तथा नापतौल विभागले मारुती, युनाइटेड र जगदम्बा सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिई १५ दिनभित्र स्पष्टीकरण दिन समेत भनेको छ ।

ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरूप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । ‘

सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षणका क्रममा मापदण्ड अनुसार गुणस्तर नपुगेपछि रोक्का गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको भनाई छ । कम्पनीले ४३/५३ ग्रेड भएको दाबी पनि नदेखिएको उनको भनाई छ ।

विभागका अनुसार मारुतीबाट सङ्कलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो भने युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ र जगदम्बाबाट सङ्कलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो ।

सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु भएको विभागको भनाई छ । गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ ।

त्यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०.७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । सो केवल नेपाल गुणस्तरबमोजिम नरहेको जनाउँदै विभागले उल्लेखित साइजको पिभिसी बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।

यसै गरी बाराको ग्यास वान नेपाललाई पनि स्पष्टीकरण सोधिएको छ । सो ग्यास उद्योगले सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिन्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको जनाउँदै बोटलिङको कार्य बन्द गर्न विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया